
दिल्ली विधानसभामा कंग्रेस पहिलोबाट तेस्रो नम्बरमा झरेको छ । भारतीय जनता पार्टी (भाजपा) पहिलो र नवगठित आम आदमी पार्टी (आप) दोस्रो भएका छन् । चुनाव परिणाम भाजपाका पक्षमा आए पनि आपका पक्षमा अप्रत्यासित जनलहर देखिएको छ । स्पष्ट बहुमत ल्याउन भाजपालाई आपले अवरोध खडा गरेको छ ।
मध्यप्रदेशमा भाजपाले पुनः जित हासिल गरेको छ भने राजस्थानमा पनि कंग्रेसलाई पछि पारेको छ । छत्तिसगढमा कंग्रेस र भाजपाबीच कडा टक्कर छ । उत्तरपूर्वी राज्य मिजोरमको मतगणना सोमबार मात्र हुनेछ ।
पहिलो पटक निर्वाचनमा भाग लिएको आपले दिल्ली विधानसभामा इतिहास रचेको हो । ७० सिटको दिल्ली विधानसभामा आप २८ सिटसहित मुख्य विपक्षी दल बनेको छ । संयोजक अरविन्द केजरीवालले १५ वर्षदेखि मुख्यमन्त्री रहेकी शिला दीक्षितलाई करिब २६ हजार मतअन्तरले पराजित गर्दै चकित पारेका छन् ।
केजरीवालसँग हार बेहोरेपछि दीक्षितले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । कसैले स्पष्ट बहुमत नल्याएको दिल्लीमा त्रिशंकु विधानसभा बनेको छ ।
आगामी वर्ष हुन लागेको लोकसभा निर्वाचनअघिको यस चुनावलाई सेमिफाइनलका रूपमा लिइएको छ, जसले भाजपा र कंग्रेसको मात्र नभई नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक भविष्यसमेत निर्धारण गर्नेछ । लोकसभामा भाजपाको पल्ला भारी भए महँगी, भ्रष्टाचार र विकासका मुद्दाबाट उक्त पार्टी केन्द्रीय सत्तामा १५ वर्षपछि पुनःस्थापित हुनेछ । यिनै मुद्दाले आफूलाई केन्द्रीय सत्तामा आरोहण गराउने भाजपाको अपेक्षा छ ।
विधानसभा निर्वाचनमा कंग्रेसको कमजोर प्रदर्शनले राहुल गान्धी नेतृत्वको राष्ट्रिय अभियानमाथि तीव्र दबाब सिर्जना गर्ने निश्चित देखिएको छ । नेहरू वंश परम्पराका उनी पछिल्ला उत्तराधिकारी हुन्, जसले कंग्रेस सरकारका कल्याणकारी योजनाहरूलाई आशावादी युवा समुदायको भोट तान्ने अंकुश बनाएका छन् ।
विधानसभा निर्वाचनमा बेहोरेको परिणामलाई कंग्रेस अध्यक्ष सोनिया गान्धीले निराशाजनक बताएकी छन् । 'कंग्रेसमा आत्म समीक्षा जरुरी देखिएको छ,' उनले संवाददाताहरूसँग भनिन् । उनले जितका लागि विपक्षी दलहरूलाई बधाई दिइन् ।
मध्यप्रदेश, राजस्थान र दिल्ली विधानसभामा भएको हारको विश्लेषण जरुरी भएको उनले बताइन् । कंग्रेस शासित राज्यका मुख्यमन्त्रीहरूले राम्रो काम गरेको बताउँदै उनले आगामी दिनमा गल्ती सुधार्नका लागि काम गरिने बताइन् ।
संवाददाताहरूलाई प्रतिक्रिया दिँदै राहुल गान्धीले आम आदमीले जनतालाई जोडेको र आगामी दिनमा कंग्रेसले पनि त्यसै गर्ने बताए । दोस्रो कार्यकालको उत्तरार्धमा रहेको कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) ले भ्रष्टाचार, सुस्त वृद्धिदर र बढो मुद्रास्फीतिको सामना गर्दै आएको छ ।
बजारले निर्वाचन परिणामलाई व्यग्रतापूर्वक नियालिरहेको छ । किनभने व्यापारिक समुदायका पि्रय नरेन्द्र मोदी भाजपाका तर्फबाट प्रधानमन्त्री उम्मेदवार हुन् । उनका पक्षमा मत सर्वेक्षणहरू सार्वजनिक भइरहँदा गत साता ऋणपत्र, मुद्रा र सेयर कारोबारमा अनौठो बढोत्तरी भएको थियो ।
प्रकाशित मिति: २०७० मंसिर २३ ०२:१४
प्रकाशित मिति: २०७० मंसिर २३ ०२:१४
No comments:
Post a Comment