Friday, December 6, 2013

कारको पेट्रोल ट्याङ्कीमा रक्तचन्दन 'नयाँ-नयाँ तरिका अपनाएर पटक-पटक ओसार्दै आएको थिएँ, तातोपानी नाकासम्म पुर्‍याउँदा प्रतिकेजी ५ हजार दिने सहमति भएको थियो’,,

काठमाडौ, मंसिर २१ - कारको पेट्रोल ट्याङ्की पार्टेसन गरेर खासा लैजाँदै गरेको रक्तचन्दनसहित प्रहरीले बिहीबार कोटेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको बा२च ५१ नम्बरको कारबाट साढे २२ किलो रक्तचन्दन बरामद भएको हो । १३ टुक्रा चन्दनसहित सिन्धुपाल्चोक तातोपानी ५ का कार चालक पुष्प तामाङ पक्राउ परेका छन् ।
अवैध रूपमा रक्तचन्दन ओसारपसार भइरहेको सूचनाका आधारमा कार र त्यसका चालकलाई पक्राउ गर्न सफल भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पीताम्बर अधिकारीले जनाए । 'चेक गर्दा कारको पेट्रोल ट्याङ्कीमा पार्टेसन गरी रक्तचन्दन लुकाई खासातर्फ लैजाने क्रममा फेला परेको हो,' उनले भने । उक्त कारमा यसअघि पनि ओसारपसार गरेको चालकले प्रहरीले बयान दिएका छन् । नयाँ तरिका अपनाएर पटक-पटक ओसारपसार गरेको खुलेको अधिकारीले बताए ।
रक्तचन्दन ओसार्न यसअघि एम्बुलेन्स, भाडा बससमेत प्रयोग हुने गरेको पाइएको थियो ।
रक्तचन्दन बोकेको कार सिन्धुपाल्चोक घोर्थली ३ का ङमिा शेर्पाको नाममा रहेको अनुसन्धानबाट खुलेको छ । रक्तचन्दन धनीले काठमाडौंबाट तातोपानी नाकासम्म पुर्‍याएबापत एक किलोको ५ हजार दिने सहमतिमा ओसारपसार गरेको चालकले प्रहरीलाई बयान दिएका छन् ।
नियन्त्रणमा लिएको चालक, कार र रक्तचन्दनसहित ब्युरोले थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंमा पठाएको छ । 'नियन्त्रणमा लिएपछि अनुसन्धान गर्ने अधिकार
प्रहरीलाई नभएकाले वन कार्यालयमा बुझाउने गरेका छौं,' ब्युरोका प्रमुख डीआईजी प्रकाश अर्यालले बताए ।  

No comments:

Post a Comment