Wednesday, August 7, 2013

कुवेतमा दुई महिलाको शव अलपत्र- **********************


दोहा (कतार), श्रावण २४ - घरेलु कामका लागि कुवेत पुगेर मृत्यु भएका दुई नेपाली महिलाको शव अलपत्र परेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार दुवाचौर- ३, सिन्धुपाल्चोककी २९ वर्षीया फूलमाया तामाङ र ठेगाना पत्ता नलागेकी सुमित्रा उराउको शव अलपत्र परेको हो । तामाङको गत मे २८ र उराउको अपि्रलमा २८ मा मृत्यु भएको हो ।

दुवैको मृत्युको विषयमा दूतावासलाई थप जानकारी छैन । उराउको फिंगर पि्रन्टबाट राहदानी नम्बर पत्ता लागेको हो । उनी २२ जुलाई २०१२ मा कुवेतमा आएको रेकर्ड छ । फूलमायाको राहदानीमा निकटतम व्यक्ति सन्तमान तामाङ भनिएको छ । 'दुवै जना गैरकानुनी बाटो हुँदै कुवेतमा आएका रहेछन्,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, 'लामो समयसम्म शवको दाबी गर्न कोही नआएपछि शव गृहले हामीलाई पत्र पठाएपछि जानकारी पाएका हौं ।'

कुवेतमा तीन महिनासम्म शव राख्न दिने कानुनी व्यवस्था छ । उक्त अवधिमा शव लिन कोही नआए कुवेती कानुनअनुसार गाडिदिने गरिन्छ । तामाङ र उराउको शव दाबी गर्न नआएमा उतै गाडिदिने स्थिति रहेको बताइएको छ । उराउको मृत्यु भएको ९० दिन कटिसकेको छ । 'हामीले हाम्रो सस्कृतिअनुसार परिवारले शव पाउनुपर्ने धार्मिक व्यवस्था भएको जानकारी दिँदै कुवेत सरकारलाई दूतावासको सूचनाबिना शव नगाड्न अनुरोध गरेका छौं,' उनले भने, 'पहिला नेपालीको शव गाडिएको भए पनि पछिल्लो समय भने त्यस्तो छैन ।'

राहदानीमा फोटो परिवर्तन गरेर दोस्रो व्यक्ति आउने राजदूत पौडेलले बताए । 'यसअघि पनि ७ जना महिलाको शव अलपत्र परेको थियो । त्यसमा ३ जना भारतीय परेछन् । एकजना जिउँदो महिला परिछिन्,' उनले भने ।

यसैबीच कुवेतको अरेबियन गल्फ स्टि्रटको मरिना मलनिर राति बाटो काट्ने क्रममा गत जुलाई ३० मा सवारीले ठक्कर दिँदा मृत्यु भएका तीन नेपालीको शव स्वदेश पठाउन दूतावासले अनुमति दिएको छ । मृत्यु हुनेमा मदनपोखरा पाल्पाका विष्णुबहादुर मश्ररंगी, खुदुनाबारी झापाका झरेन्द्रप्रसाद आचार्य, पुरान्धारा दाङका भूपाल ओली छन् । घाइते हुने पुरान्धारा दाङका वीरबहादुर गाहाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरू तीनै जना स्थानीय एक रेस्टुरेन्टमा काम गर्थे ।

यस्तै, तीन वर्षअघि कुवेतमा आगलागीमा ज्यान गएका गोरखाका पूर्णबहादुर मल्लका पीडित परिवारले ३४ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । दूतावासले बिमाका लागि मुद्दा लडेर यो रकम दिलाएको हो ।

No comments:

Post a Comment