
काठमाडौ, श्रावण
नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ बढाएर प्रतिलिटर १ सय २५ रुपैयाँ पुर्याएको छ । त्यस्तै डिजेल र मट्टीतेल १ रुपैयाँ बढेर एक सय रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन पनि प्रतिलिटर १० रुपैयाँ बढेर १ सय ३० पुगेको छ । ८ महिनाअघि मूल्य समायोजन गर्दै पेट्रोलको भाउ १ सय २५ बाट घटाएर १ सय २३ रुपैयाँ प्रतिलिटरमा झारेको थियो । त्यति बेला निगमले पेट्रोलको मूल्य १ सय २३ हुँदा १० रुपैयाँ फाइदा रहेको बताएको थियो ।
'समायोजनका बेला घाटा कम भएकाले मूल्य कटौती गरेका थियौं,' निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने, 'अहिले मूल्य बढाए पनि मासिक कुल घाटा १ अर्ब रुपैयाँ बाँकी नै हुन्छ ।' उनका अनुसार उपभोक्तालाई सकेसम्म कम भार होस् र निगमलाई पनि चलाउन अप्ठ्यारो नहोस् भनेर थोरै मूल्य मात्र बढाइएको उनको दाबी छ । 'सहज आपूर्तिका लागि लागत मूल्यमा बेच्न पाउनुपर्नेमा घाटा खाएर बेचिरहेका छौं,' उनले भने, 'सरकारले जनतालाई कम मूल्यमा बेच्ने हो भने घाटा भएको रकम निगमलाई अनुदान दिनुपर्छ ।'
निगमले खाना पकाउने ग्यासको भाउमा परिवर्तन गरेको छैन । हवाई इन्धनमा आन्तरिकका लागि १० रुपैयाँ बढेको छ । '१ सय २० बाट १ सय ३० रुपैयाँ भएको छ,' निगम अधिकारीले भने । अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीहरूले प्रतिकिलोलिटर -केएल) १ हजार ३ सय डलर तिर्नुपर्ने भएको छ ।
निगम सञ्चालक समितिका सदस्य दीपक सुवेदीका अनुसार घाटाका साथै मूल्य वृद्धिलाई डलरको उतारचढावले पनि असर पारेको हो । 'नेपाली र भारतीय मुद्रा कमजोर हुँदै गएपछि निगमलाई घाटा बढी भएको हो, जसले गर्दा मूल्य बढाउन बाध्य हुनुपर्यो,' उनले भने ।
No comments:
Post a Comment