
खोटाङ, साउन साउन १८ – खोटाङमा उमेर बढाएर राहदानी बनाउन आएकी एक किशोरीलाई घर फिर्ता पठाइएको छ ।
बिदेश जानका लागि उमेर बढाएर राहदानी बनाउन सदरमुकाम दिक्तेल आएकी लिच्कीराम्चे ८ की १६ वर्षीया मेनुका परियारलाई घर फर्काइएको हो ।
२० वर्ष पुगेको भन्दै नागरिकता बनाएपछि राहदानी बनाउन खोज्दा उहाँलाई खोटाङमा सञ्चालित सुरक्षित आप्रबासन परियोजना सूचना केन्द्र तथा स्थानीय युवा नेताहरुले सम्झाई बुझाई घर फिर्ता पठाएका हुन् ।
सरकारले कुवेत लगायतका खाडी मुलुकमा महिलालाई ३० वर्ष नपुगी घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको छ । ८ कक्षामा पढ्दै गरेकी मेनुका घरेलु कामका लागि कुवेत जाने भन्दै गाईघाट ठेगाना बताउने चक्र परियारका साथमा सदरमुकाम आउनुभएको थियो ।
शंका लागेपछि राहदानी बनाउन प्रशासन कार्यालयमा संरक्षक बस्नुको सट्टा सम्झाएर घर पठाएको एकीकृत नेकपा माओबादीका युवा नेता होमकाजी आचार्यको भनाई छ ।
मेनुकाले दुई वर्ष अघिदेखि आफ्नो बुवा डिकबहादुर परियार कुवेतमा काम गर्दै आएको र बुवाकै सल्लाहमा काकीसँग कुवेत जान राहदानी बनाउन आएको बताएको सूचना केन्द्रले जनाएको छ ।
जनसेवा समाजका स्थानीय सामाजिक परिचालक रमेश राई ‘गाउँले’का अनुसार बुवा डिकबहादुर भने गाउँमै सिलाई कटाईका पुर्खौलीका काम गर्दै आउनुभएको छ
No comments:
Post a Comment