Wednesday, July 24, 2013

यसरी बाँडे पूर्वराजाले दार्चुलामा राहत "स्वागतमा राप्रपा नेपालका कार्यकर्तासमेत परिचालित"



भूपि धामी
९ साउन, दार्चुला । पूर्वराजा ज्ञानेन्द्र शाहले दार्चुला पुगेर बाढीपीडितहरुलाई राहत वितरण गर्नु भएको छ । पूर्वराजाको राहत वितरण कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताहरुको प्रत्यक्ष संलग्नता देखिएको छ ।
ज्ञानेन्द्र र बुहारी पूर्वयुवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहसहितको टोली माउन्टेन फ्लाइटको हेलिकोप्टरमार्फत बधबार बिहान पौने ११ बजेतिर दार्चुला पुगेको हो । नेपाली सेनाको ब्यारेक परिसरमा हेलिकोप्टर अवतरण गर्न नदिइएपछि खुलामञ्चमा ल्याण्ड गरिएको थियो ।


ज्ञानेन्द्रले दार्चुला विकास संगठनको हलमा गएर ट्रष्टले संकलन गरेको राहत बाढी पीडितहरुलाई वितरण गर्नुभएको थियो । ज्ञानेन्द्रको स्वागत गर्न गठित मूल समितिका संयोजक सन्तोष ऐतवालका अनुसार १३ टन चामलसहित लत्ताकपडा र भाँडाकँुडा हिमानी ट्रष्ट कोषले उपलब्ध गराएको थियो । राहत सामाग्रीमध्ये अनुमानित ६० जना विद्यार्थीलाई पोशाक, ९० जनालाई ४५ किलोग्राम चामल र एक सेट भाँडाकँुडा वितरण गरिएको छ ।
तीनवटा ट्रकमा राहत सामाग्री भारतीय बाटो भएर दार्चुलाका लागि ल्याउँदै गर्दा भारतको पिथौरागढ जिल्लाको बलुवाकोटमा सडक अवरुद्ध भएका कारण खलंगासम्म ल्याउन समस्या भएको बताइएको छ । बाँकी राहत सामाग्री अब प्रशासन कार्यालय मार्फत वितरण गरिनेछ । केही राहत सामाग्री वितरण गरिए पनि आर्थिक सहयोग कतिजनालाई वितरण गरियो भन्ने खुलाइएको छैन ।

ज्ञानेन्द्र परिवारले राहत वितरण गरिरहँदां पीडित तथा समर्थकहरुले भने राजतन्त्रको पक्षमा नारा लगाएका थिए । ज्ञानेन्द्रको स्वागतका लागि चार दिन अगाडिदेखि नै खलंगा बजारको पाँच ठाउँमा गेट बनाइएको यो । सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो भने राप्रपा नेपालले पनि आˆना कार्यकर्ता सुरक्षार्थ स्वयमसेवका रुपमा परिचालन गरेको थियो । कडा सुरक्षावीच राहत वितरण गरी पूर्वराजा ज्ञानेन्द्र साढे एक बजेतिर फर्किनुभएको छ ।

पाँच विद्यालयलाई आर्थिक सहयोग

पूर्वराजा ज्ञानेन्द्रले दार्चुलाका पाँचवटा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बाढीका कारण पूर्णरुपमा क्षतिग्रस्त बनेको धाप गाविसमा रहेको भगवती प्रावि काकडालाई २ लाख ५० हजार, ग्वानी गाविसमा रहेको लटिनाथ प्रावि बरमुडेलाई १ लाख ५० हजार, खार गाविसमा रहेको लटिनाथ उमाविलाई १ लाख, धाप गाविसमा रहेको जनज्योती प्रावि थालिगाडलाई १ लाख र जिल्ला सदरमुकाम खलंगाको बागाबगरमा रहेको कैलाशपति निमाविलाई ५० हजार रुपैयाँ दिनुभएको छ । जिल्ला शिक्षा कार्यालयको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराएको ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिनाले बताउनुभयो ।

No comments:

Post a Comment