Sunday, September 1, 2013

तीज विशेष जानकारी



सहर बजारका र हुनेखाने परिवारका महिलाहरू तीज आयो भन्दै  विभिन्न किसिमका फेसन र गहना प्रयोग गरेर चिटिक्क पर्न थालिसकेका छन्। उनीहरू स्यान्डलदेखि सिन्दूरसम्मको प्रयोगमा विशेष चनाखो देखिन्छन्। तीज पर्वप्रति सबै वर्ग, तह र तप्काका महिलाहरू उतिकै आकषिर्त छन्। तीज एकातिर दुःख बिसाउने चौतारी हो भने अर्कातर्फ धार्मिक आस्था र विश्वासले भरिएको पनि पर्व हो। विवाहितहरूले श्रीमानको आरोग्य एवं पारिवारिक सुखशान्तिको कामना गर्ने हुँदा उनीहरू सकेसम्म सोर्‍हश्रृंगार गर्छन्। मेकअपको विधि, गहना एवं एसेसरिजको तालमेलपूर्ण प्रयोगसम्बन्धी जानकारी नहुँदा राम्रो पहिरन र मेकअप पनि खल्लो देखिन सक्छ। त्यसैले गहना, मेकअप एवं एसेसरिजको प्रयोगमा संवेदनशील हुनु आवश्यक छ।

मेकअप

सौभाग्यको प्रतीक भएकाले महिलाहरूको पहिलो रोजाइमा मेकअप नै पर्छ। मेकअप गर्दा अनुहारको रंग एवं बनोटमा ध्यान दिनु पर्छ। मेकअपमा महिलाहरूले प्रयोग गर्ने रातो रंगलाई सौभाग्यको प्रतीक मानिन्छ। त्यसबाहेक हरियो र सुनौलो रंग पनि प्राथमिकतामा पर्छ। मेकअप गर्दा छालाको प्रकृतिलाई ध्यान दिनु आवश्यक छ। कुनै पनि अवसरमा विवाहित र अविवाहितले गर्ने मेकअप फरक हुने सेरोमोनी ब्युटीपार्लर, जावलाखेलकी ब्युटिसियन मीना न्यौपाने बताउँछिन्। मेकअप गर्नुभन्दा पहिले क्लिन्जिङ वा गुलाबजलले छाला सफा गर्नुपर्छ। त्यसपछि टोनर प्रयोग गर्नुपर्छ। छालाको प्रकृति अनुसारको मोस्चराइजर र सन ब्लक पनि लगाउन सकिन्छ। त्यस पछि प्राइमर लगाउनुपर्छ। प्राइमरले मेकअपका कारण छालामा पर्नसक्ने दुष्प्रभावबाट बचाउँछ। त्यसपछि अनुहारको छालासँग मिल्ने रंगको फाउन्डेसन लगाउनुपर्छ। फाउन्डेसनको प्रयोगपछि कम्प्याक पाउडरको प्रयोग गर्नुपर्छ। आइमेकअप र आईप्राइमर पनि प्रयोग गर्नुपर्छ। त्यसपछि आइब्रोलाई कालो पेन्सिलले सेप दिने र आँखाको आकार अनुसार गाजल लगाउनु पर्ने मीना बताउँछिन्। सानो आँखालाई ठूलो देखाउन, तलमाथि दुवै तिर गाजल लगाउनुपर्छ। गहिरो आँखालाई बाहिर निस्किएजस्तो देखाउन सिल्भर, लाइट ब्राउन पेन्सिल प्रयोग गर्नुपर्छ तर आइस्याडो भने रातै हुनुपर्छ। 

विवाहितले रातो तथा अविवाहितले हरियो, सुनौला वा रातो रंगको आइस्याडो लगाउँदा सुनमा सुगन्ध थपिन्छ। लाम्चो अनुहार छ भने कोष तान्नु हुँदैन। गोलो अनुहार भएकाहरूले भने कोष तान्दा सुन्दर देखिने मीना बताउँछिन्। सामान्य अनुहारमा भने दुवैमध्ये कुनै उपाय अपनाउन सकिन्छ। त्यसपछि मस्कारा प्रयोग गरेर आइकलले परेला फर्काउनुपर्छ। त्यसपछि फेरि एक पटक मस्कारा प्रयोग गरी आइकलले हल्का टच गर्नुपर्छर्। यसो गर्नाले परेला बाक्लो, कालो एवं आकर्षक देखिन्छ।

 अनुहारलाई प्राकृतिक रूप दिन ब्रसको सहायताले रोज लगाउनुपर्छ। अनुहारलाईर् गोलो देखाउन कन्चटसम्म सी आकार दिएर रोज लगाउनुपर्छ। त्यसै गरी लाम्चो अनुहारलाई गोलो देखाउन गालाको मध्यभागबाट सिधा तानेर रोज लगाउनुपर्ने मीना बताउँछिन्। ओठको आकार हेरी लिपिस्टक वा लिप पेन्सिल छनौट गर्नुपर्छ। ठूलो र सानो ओठ हुनेले गाढा रातो तथा सामान्य ओठ हुनेले हल्का रातो रंगको लिपस्टिक प्रयोग गर्नुपर्छ। अविवाहित महिलाहरूले ओठलाई थप आकर्षक देखाउन हल्का रातो एवं सिल्भर रंगको ग्लस पनि लगाउन सक्छन्, तर तीजको अवसर भएकाले रातो रंगको लिपस्टिक नै राम्राे देखिन्छ। नङमा रातो नेल पोलिस नै लगाउनुपर्छ। अनुहारबाहेक शरीरको अन्य भाग घाँटी, पाखुरा, हात, कान सबैतिर फाउन्डेसन लगाउनुपर्छ। मन्दिर जाँदा होस्, नाचगान वा दौडधूप गर्दा नै किन नहोस् पसिनाले अनुहार भिज्छ। त्यसैले वाटरप्रुफ अर्थात् प्यानस्टिक मेकअप प्रयोग गर्नुपर्छ। हर्बल स्प्रे प्रयोग गर्दा छालामा कुनै नकारात्मक असर पर्दैन। तीजलगत्तै पञ्चमीको दिन निधारमा टीका मात्र लगाउने वा अनुहारमा हल्का मेकअप गर्ने तर केश त्यसै छोड्ने चलन छ। पूजा गर्दा घाममा बस्नु पर्ने हुँदा छालालाई जोगाउन सनब्लक लगाउन बिर्सन नहुने सौन्दर्यकर्मी मीनाले बताइन्। 

हेयर स्टाइल

विवाहितहरूले तीजको अवसरमा विभिन्न डिजाइनका जुरो बनाउँछन्। यसमा रोयल नट, प|mेन्च नट, चाँदनी, साइड बनजस्ता जुरो निकै प्रचलित छ। जुरोमा सानो कृत्रिम गुलाफको फूल र साइडबाट ठूलो प्राकृतिक गुलाफको फूल राख्न सकिन्छ। विभिन्न डिजाइनका राता काँटा र फरक डिजाइनका पोतेका फूल काँटा जुरोको साइडमा लगाउँदा निकै आकर्षक देखिन्छ। विवाहित महिलाहरूले मोती, सितारा र पोते भरेको रातो धागो लगाउँदा सुन्दरतामा थप निखार आउँछ। अविवाहितहरूले साइड पिन, रातो फूल लगाउन वा हल्का कर्लि गरेर छोड्न सक्छन्। 

गहना

गहना महिला श्रृंगारको एउटा विशेष पाटो हो। गहनाको अभावमा महिला सौन्दर्य अधुरो रहन्छ। त्यसैले पनि तीजमा अनेकौं प्रकारका गहना लगाइन्छ। तीजमा महिलाहरू मन्दिर जाने, भीडभाड र हुलमूलमा नाचगान गर्ने हुँदा गहना चोरी हुने वा हराउने सम्भावना हुन्छ। त्यसैले केही वर्षयता सक्कलीभन्दा नक्कली गहना लगाउने चलन बढेको छ। 

तीजका लागि विवाहित महिलाहरूले प्रयोग गर्ने गहनामा विविधता पाइन्छ। घाँटीमा लगाइने गहनामा पोते, छड्के तिलहरी, नेक्लेस, जन्तर, नौगेडी, मंगलसूत्र, हार, रातो, हरियो वा पहेंलो पोते र मिश्रति पोते प्रमुख छन्। अविवाहित युवतीहरूले भने विभिन्न डिजाइनका मोती सेट, पत्थर सेट र चेन लगाउँछन्। यस्ता गहनामा अहिले सक्कलीभन्दा नक्कली नै प्राथमिकतामा परेको सोना श्रृंगार ज्वलरी मखनका ओम हरि श्रेष्ठले बताए। रातो पत्थर र पोतेजडित गहना पनि प्रयोग गर्न सकिन्छ। कानमा विभिन्न डिजाइनका टप, इयर रिङ, झुम्का तथा मुन्द्रा लगाउन सकिन्छ। खुट्टामा विभिन्न डिजाइनका सक्कली चाँदीका पाउजु लगाउन सकिन्छ। निधारमा विभिन्न डिजाइनका स्टोनजडित वा सादा टीका प्रयोग गर्न सकिन्छ। विवाहितहरूले हातमा स्टोनका सेट बाला, काँचका चुरा तथा पोतेको बाला आकर्षक देखिन्छ। हुनेहरूले सक्कली सुन र सक्कली हिराका बाला पनि लगाउँछन्। त्यसै गरी अविवाहितहरूले विभिन्न डिजाइनका स्टोन वा मोती भरिएका वा सादा बालाको माग गर्ने श्रेष्ठ बताउँछन्। 

ब्याग

महिलाहरूका लागि ब्याग कहिल्यै नछुट्ने एसेसरिज हो। हिजोआज बजारमा अनेक डिजाइन, रंग एवं ब्रान्डका ब्याग उपलब्ध छन्। महिलाहरू पर्वअनुसार नै ब्याग बोक्न रुचाउँछन्।  तीजमा महिलाहरूले रातो रंगको ब्याग नै रोज्ने वल्र्ड टे्रड सेन्टरका अनिलले बताए। त्यसपछि गुलाफी रंगको ब्यागको माग हुन्छ। तीजका लागि ब्रान्डेडदेखि सामान्य किसिमका तर फेन्सी ब्याग रुचाउनेहरू पनि बढेका छन्। यस पटकको तीजका लागि सबैभन्दा बढी ह्यान्ड पर्स बिक्री भैरहेको व्यवसायीहरू बताउँछन्। तीज विशेष ब्यागमा साइड ब्याग, हाते ब्याग, थैली ब्याग, मनि ब्याग, मोबाइल ब्याग तथा पार्टी ब्याग पर्छन्। तीजका लागि विभिन्न रंगका पोते,स्टोन, सितारा एवं धागोले बुट्टा कुँदिएका ब्यागहरू पनि पाइन्छन्। 

जुत्ता

जुत्तालाई फेसनको महत्वपूर्ण पाटो मानिन्छ। तीजमा विवाहित महिलाहरू प्रायः रातो रंगका स्यान्डल प्रयोग गर्छन्। त्यसपछि कालो, गुलाफी एवं सुनौलो रंगको जुत्ता प्राथमिकतामा पर्छन्। स्याण्डल र खुला जुत्ताको माग तीजमा बढी भएको वल्र्ड ट्रेड सेन्टरका दीपु डेभिड बताउँछन्। मन्दिर जाँदा वा नाचगानका लागि भने फ्ल्याट जुत्ता नै उपयुक्त हुन्छ। 

नेल आर्ट

महिलाहरूको सौन्दर्य एवं व्यक्तित्वको परिचय हातको नङले दिन्छ। नेलपोलिस लगाउन मन नपराउनेहरूले विकल्पका रूपमा नेल आर्ट प्रयोग गर्न सक्छन्। नेपालमा लिट ब्रस नेल आर्ट, थि्रडी आर्ट, वन स्टोक आर्ट, ग्रयाडियन आर्ट, स्टोन आर्ट, थि्रडी जेलआर्टहरू फेसनमा छन्। त्यसमा पनि तीजका लागि विषेश गरी वनस्टोक आर्ट, थि्रडी आर्ट र कृत्रिम नङका लागि एक्रेलिक स्कप्चर प्राथमिकतामा परेको जङ्ग स्टोनका नेल टेक्निसियन सुनीलजङ्ग मल्ल बताउँछन्। 

मेहन्दी

हातको सौन्दर्यका लागि फरक डिजाइनको मेहन्दी लगाउन सकिन्छ। हातमा गाढा मेहन्दी बसे पारिवारिक मेलमिलाप राम्रो हुने आमधारणा छ। मेहन्दीमा फूल एवं लहराको डिजाइन बनाउन सकिन्छ। 

नेलपोलिस

नेलपोलिसले नङको सौन्दर्य झल्काउने मात्र होइन, नङको सुरक्षा पनि गर्छ। त्यसैले महिलाहरू विभिन्न रंगका नेलपोलिस प्रयोग गर्छन्। तीजमा रातो नेलपोलिस नै सुन्दर देखिने ब्युटीसियनहरू बताउँछन्। रातो सारीमा रातो नेलपोलिस नै जम्छ भने हरियो र पहेलो सारीमा हरियो र पहेंलो नै नेलपोलिस प्रयोग गर्नुपर्ने मीना बताउँछिन्। 

टीका

महिलाहरूका लागि सिन्दूर पछि टीकालाई महत्त्वपूर्ण मानिन्छ। तीजको अवसरमा बजारमा अनेक डिजाइन एवं रंगका टीका उपलब्ध हुन्छन्। आध्यात्मिक रुपमा टीका सौन्दर्यको प्रतीक हो भने वैज्ञानिक रूपमा टीकालाई निधारको पोषणका रूपमा लिइन्छ। बजारमा हिजोआज गोलो तथा लाम्चो डिजाइनका टीका पाइन्छन्। तीजका लागि स्टोन, पोते, मोती तथा मुगाजडित टीका राम्रो हुने ब्युटिसियन मीना बताउँछिन्। भरेको सारी र कुर्ता सुरुवालमा यस्ता टीका विशेष खुल्छन्। 

No comments:

Post a Comment