.jpg)
स्थानीय प्रशासन र जिविसले नियन्त्रण गर्न थालेको प्रयास सफल नहुनु र भ्वाङ पर्ने क्रम पनि नरोकिएपछि स्थानीय भयभीत भएका हुन् । जिल्ला प्राविधिक कार्यालय र खानी तथा भू-गर्भ विभागका विज्ञको प्रारम्भिक अध्ययनपछि जमिनमुनिको पानी सतहमा ल्याउन गरिएको प्रयास अहिलेसम्म सफल भएको छैन । १० दिनदेखि डोजर लगेर पुरिएको दुहुनी खोलालाई गहिरो बनाएर जमिनमुनि फैलिएको पानी ल्याउने प्रयास अझै सफल भएको छैन ।
साविक खोलाभन्दा छुट्टै नयाँ ठाउँबाट काली खोला किनारमा निस्केको पानी सकेसम्म बन्द गर्ने वा नसके कम गर्न खोजिएको थियो । डोजरले पुरानो खोला तीन मिटर गहिरो खने पनि पानी भने त्यसमा आएको छैन । 'डोजरले तीन मिटर खन्यो । तर पानी कम्तीमा छ मिटरभन्दा तल भूमिगत भएकोले साविक खोलामा ल्याउने प्रयास सफल भएन,' जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद श्रेष्ठले भने, 'छ मिटर गहिरो खन्न जिल्लामा अहिले उपलब्ध उपकरणबाट सम्भव छैन ।' प्रारम्भिक अध्ययनबाट थालिएको प्रयास सफल नभएपछि विस्तृत अध्ययन गरी अन्य उपायको खोजी गर्नुपर्ने इन्जिनियर श्रेष्ठले बताए ।
मजुवा खेतमा रहेका विभिन्न मूल तथा वर्षामा आउने खहरे खोलाको पानी पहिले दुहुनी खोला भएर काली खोलामा मिसिन्थ्यो । २०३५ को नापीको अभिलेख अनुसार २० देखि ३० मिटरसम्म खोला फराकिलो थियो । अतिक्रमण भएर अहिले दुई तीन मिटरभन्दा पनि साँघुरिएको छ । पोखरामा खानेपानी ल्याउँदा तथा त्यसपछि सडक बनाउँदा खोलामा ह्युम पाइप राखेर पानी बग्ने सतह माथि सारियो । प्राकृतिक रूपमा पानी काली खोलामा मिसिन नपाएपछि जमिनमुनि फैलियो । सिल्ट र ग्राभेल जम्मा भई बनेको कमजोर अवस्थाको भू-बनोटको क्षेत्र भएकोले पानी नयाँ निकास
हुँदा भित्रको कमेरे माटो पनि बगेर गई जमिन भासिएको भू-गर्भविद्हरूले स्थलगत अध्ययनपछि दिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
यहाँ भ्वाङको प्रकोप सुरु भएपछि खानी तथा भू-गर्भ विभागबाट भू-गर्भविद् लीलानाथ रिमाल र कुशलनन्दन पोखरेलको टोली आएको थियो । अहिले भ्वाङको संख्या ५० नाघेको छ । संख्या पनि बढेको छ भने परेका भ्वाङहरू पनि क्रमशः बढेर ठूलो आकारको हुँदै छन् । सबैजसो भ्वाङहरू गोलाकार छन् । कुनैमा पानी जमेको छ भने कुनै सुख्खा छन् । भ्वाङ परेको नजिकै कालोपत्रे सडकको बीच भागसमेत चर्किएको छ ।
भ्वाङ परेपछि ४८ घर प्रभावित भएको गाविस सचिव रामचन्द्र पौडेलले बताए । यी घरमा बसेका २ सय ३४ बासिन्दा त्रासमा दिनरात गुजारिरहेका छन् । ती मध्ये चार वटा घर भ्वाङले क्षति पुर्याइसकेको छ । घर नजिकै भ्वाङ परेपछि कुनै पनि बेला भत्कन सक्ने जोखिमका कारण १५ घरका मानिस छाडेर विस्थापित भएको तथ्यांक गाविसको कार्यालयमा छ । ती घरका ८९ जना कोही आफन्तकहाँ त कोही अन्यत्रै डेरा खोजेर बस्न गएका छन् । अन्य जोखिमका ३३ घरमा बसिरहेका १ सय ४५ जना पनि चिन्तित छन् । अन्य २६ जनाको खेत नोक्सान पारेको छ । घरखेत सबै गरेर ३ सय ७९ जना प्रत्यक्ष प्रभावित भएको पौडेलले बिहीबार जानकारी दिए । महेन्द्रगुफा- कलमुडा सडक अवरुद्ध छ । पोखरा खानेपानी लाइन, विद्युत् र टेलिफोन लाइन पनि उच्च जोखिममा छन् ।
जिविस, स्थानीय प्रशाशनका अधिकारीदेखि मन्त्रीसमेतले भ्रमण गरेर आश्वासन दिए पनि भ्वाङ नियन्त्रणको कुनै लक्ष्ण देखिएको छैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकसमेत आएर मन्त्रिपरिषद्मा समस्या राखेर नियन्त्रण तथा राहतको आश्वासन दिएका थिए । तर समस्याप्रति राज्यको केन्द्रीय निकाय गम्भीर नभएको स्थानीय बताउँछन् । 'धनको त निकै क्षति भइसक्यो । अब जनको क्षति पनि होला भन्ने चिन्ता बढ्यो,' स्थानीय सोमनाथ आचार्यले भने, 'सरकारले ठूलै अनुसन्धान र बजेट दिए कुन्नि, नत्र यहाँका बासिन्दा पिल्सिएरै बस्नुको विकल्प देखिँदैन ।'
उपमहानगरको उत्तरी सीमामा भ्वाङको विपत्ति परेपछि हेर्न जानेको घुइँचो नै छ । पोखरामा पहिले पनि भ्वाङ पर्छ भन्ने सुनेको तर नदेखेको युवा पुस्ताका लागि यो विशेष चासोको विषय बनेको छ । खानी तथा भू-गर्भ विभागले सन् १९९८ मा पोखरा उपत्यकाको भौगर्भिक अध्ययन गरेको थियो । जुन अध्ययनले भ्वाङ पर्न सक्ने क्षेत्रहरूसमेत छुट्टयाएको थियो । विभागद्वारा प्रकाशित नक्सामा सहरी क्षेत्रको बनावट कमजोर उल्लेख गर्नुका साथै मध्य भागमै भ्वाङ पर्न सक्ने संकेतसमेत देखाइएको छ ।
यस्तो खतरा औंल्याइएको सहरी सीमामै भ्वाङ परेपछि यहाँका बासिन्दाहरूमा यसको कारण,
प्रकृति हेर्न रुचि बढाएकोले भिड लागेको देखिन्छ ।
प्रकाशित मिति: २०७० मंसिर २१ ०९:०४
प्रकाशित मिति: २०७० मंसिर २१ ०९:०४
No comments:
Post a Comment