Wednesday, December 11, 2013

रेग्मीले गरे शाहीवंशीय कुल देवताको दर्शन..

पाल्पा, मंसिर २६ - अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले स्याङ्जास्थित शाहवंशीय कुल देवताको दर्शन गरेका छन् । रेग्मीले स्याङ्जाको आलमदेवी र पाल्पाको भैरवस्थान मन्दिरमा पुजाआजा गरेका छन् ।
आलमदेवी शाहवंशीय कुल देवताका रुपमा चिनिन्छन् । शाहवंशीय राजाहरुले पुजाआजा र कुल देवताका रुपमा मान्ने भएकाले अन्य विशिष्ट व्यक्तिको खासै उपस्थिति रहँदैन । तर, चर्चित शक्तिपीठका रुपमा भने आलमदेवी चिनिन्छ ।
रेग्मी श्रीमती शान्ता, छोरा पुजनसमेत ठूलै टोली लिएर नेपाली सेनाको एन ए ०५३ नम्बरको हेलिकोप्टरमा आएका थिए । शिक्षा, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल, शिक्षा सचिव नारायण गोपाल मलेगो, प्रेस संयोजक राजेन्द्र पाण्डेय, पत्रकार शम्भू श्रेष्ठ लगायत झण्डै दर्जन सहभागी थिए ।
बिहान पौन ८ बजे काठमाडौंबाट उडेको हेलिकोप्टर आलमदेवी मन्दिरमा पुजाआजा गरेर पुनः पाल्पाको भैरवस्थान आएको थियो । भैरवस्थानबाट रेग्मीसहतिको टोली जीपमा तानसेन आएका थिए । हेलिकोप्टर भने सिधै लुम्विनी मेडिकल कलेज प्रभासमा रोकिएको थियो । हेलिकोप्टर अपरान्ह ४ बजे जिल्लाबाट काठमाडौं उडेको थियो ।
रेग्मी तानसेन आइपुग्दा विहानै ८ बजे र्‍यालीमा बोलाइएका विद्यार्थीहरु भोकले घरतिर लागेका थिए । तानसेनका सबै विद्यालयबाट झांकी र्‍यालीसहित विद्यार्थीलाई अनिवार्य उपस्थिति गराइएको थियो । विद्यार्थीहरु भोक खप्न नसकेपछि घरतिर लाग्न बाध्य भएको शिक्षक जीवन नेपालले बताए ।
‘जुन कार्यक्रम गरेपनि विद्यार्थीलाई सहभागिता गराइनु गलत हो,’ उनले भने, ‘जुनसुकै तन्त्र आएपनि पुरानो संस्कार वदलिन सकेको छैन ।’ जिल्ला शिक्षा कार्यालयले भने शिक्षाको कार्यक्रम भएकाले विद्यार्थी उपस्थिति गराउनुपर्ने बताएको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको मन्तव्यका बेला भने सय भन्दा बढी विद्यार्थी थिएनन् ।

No comments:

Post a Comment