
संयोग कस्तो पर्यो भने भट्टराईका साथमा रहेका युवा पनि पूर्वलडाकू नै थिए । उनले सोधे, ‘आफ्नो कमान्डर उठेका ठाउँमा किन गगन थापालाई भोट माग्दै हिँड्नुभएको त ?’ युवाहरु कुटौंलाजस्तो गर्दै जंगिए- ‘त्यो पासाङका कुरै नगर्नोस् । यी कमाण्डरहरुले शिविरमा हाम्रो कति पैसा खाएका छन् ? त्यसको हिसाबै नबुझाई यिनीहरु फेरि सत्तामा जान खोज्ने ?’
एमाओवादीका पूर्वलडाकू कमान्डर पासाङ चुनाव लडेको काठमाडौं ४ मै यसरी पूर्वलडाकू युवाहरु कांग्रेसलाई भोट माग्दै हिँडेका थिए भने देशैभरि अवकाश रोजेका वा विभिन्न कारणबाट बहिर्गमनमा परेका लडाकूहरुले कस्तो भूमिका खेले होलान् ? के पूर्वलडाकू युवाहरुले चुनावमा एमाओवादीलाई सघाए ? यसबारेमा सम्भवतः एमाओवादीले अहिलेसम्म विश्लेषण गरको छैन । स्मरण रहोस् एमाओवादीद्वारा गठित पूर्वलडाकूहरु संगठनको प्रमुखमा नन्दकिशोर पुन पासाङ आफैं हुनुहुन्छ ।
टाढाको कुरा के गर्ने, एमाओवादी अध्यक्ष प्रचण्डले चुनाव लडेर पराजीत हुनुपरेको काठमाडौं १० मा रामबहादुर गुरुङ नाम गरेका एक पूर्वलडाकूले उम्मेद्वारी नै दिएका थिए । उनले विभिन्न जिल्लाबाट पूर्वलडाकूलाई काठमाडौं १० मा बोलाएर प्रचण्डविरुद्ध अभियानै चलाएका थिए । संयुक्त जनमोर्चाका तर्फबाट भरिया चुनाव चिन्ह लिएर प्रचण्डविरुद्ध चुनाव लडेका उनले निर्वाचनमा ९ मत मात्रै पाए । तर, चुनावभरि गाउँगाउँमा प्रचण्ड भ्रष्टाचारी हुन्, उनले मजस्ता गरिबका छोरालाई बन्दूक बोकाएर मेरो भविश्य बर्बाद बनाए भन्दै एमाओवादीको धेरै भोट कटाउने काम गरे । प्रचण्डलाई हराउन पूर्व लडाकूहरु काठमाडौं १० मा सक्रिय देखिए ।
एक ताका प्रचण्डको सुरक्षा गार्डसमेत रहेका अर्का पूर्व लडाकू प्रवेश लामाले सिरहा ५ मा प्रचण्डविरुद्ध उम्मेद्वारी दिएका थिए । स्वतन्त्र उम्मेद्वार बनेका लामाको डालो चिन्हमा ५ भोट मात्रै झरे पनि पूर्वलडाकूको सेन्टिमेन्ट भड्काउन लामाको भूमिका रह्यो । यसरी जनयुद्धका सुपि्रम कमान्डर र कमान्डरहरुकै विरुद्धमा पूर्वलडाकूहरु सक्रिय भएर लागेपछि देशैभरि जनयुद्धमा लडेको फोर्सलाई एमाओवादीले आफ्नो पक्षमा परिचालन गर्न असफल भयो । ०६४ को चुनावमा लडाकूहरुले मन वचन र तन लगाएर एमाओवादीको चुनाव प्रचार गरेका थिए । दशौं हजारको संख्यामा रहेको यो फोर्सलाई यसपटक कांग्रेस, एमाले, राप्रपा र शिवसेना सम्मले प्रयोग गरे । अधिकांशलाई वैद्य माओवादीले बहिस्कार अभियानमा परिचालन गर्यो ।
आखिर एमाओवादीका नेताहरुप्रति किन भाँडियो जनयुद्ध लडेका युवाहरुको मन ? यसबारे एमाओवादी नेताहरुले बेलैमा अनुसन्धान गरेर उनीहरुको विश्वास जित्न सकेनन् भने आगामी दिनमा समेत हतियारसँग खेलेको यो युवाशक्तिलाई एमाओवादीको साटो अन्यले नै प्रयोग गर्ने र एमाओवादीकै विरुद्ध खन्याउन सक्ने सम्भावनालाई यसपालिको चुनावले राम्रसित औंल्याएको छ ।
No comments:
Post a Comment