Friday, December 13, 2013

एम्बुसमा अपराधी राजनीतिक संरक्षणको आडमा अपराध गर्नेहरु कठघरामा -

नेपालगन्ज, मंसिर २८ - -महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका तत्कालीन प्रमुख सीतारामराज विष्टलाई २ जेठ ०६४ मा गोली हानेको आरोपमा प्रहरीले नौ दिनपछि अर्जुन सिंहलाई पक्राउ गर्‍यो। तर, नेपाली कांग्रेसको दबाबमा ३ असारमा छाड्यो । जिल्ला प्रशासन कार्यालयमा २२ हजार रुपियाँ धरौटी बुझाएर छुटेका तिनै अर्जुन सिंह भूमिगत समूह जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका नेता भगत सिंह बने।
-नेपाल-भारत सीमावर्ती गाउँमा 'खुन-डाँका'को नामले परिचित थिए, रनियापुर, बाँकेका सिकन्दर अली खाँ। ३ जेठ ०६५ मा प्रहरीले उनलाई पक्राउ गर्दा बेतहनीलगायत गाउँका बासिन्दाले खुसीमा भोज खाएका थिए। उनी पहिलो संविधानसभा निर्वाचनमा बाँके-२ का राष्ट्रिय जनमोर्चा उम्मेदवार कमलप्रसाद अधिकारीको हत्यामा संलग्न थिए। तर, माओवादी नेतृत्वको सरकारले अधिकारीको हत्यामा संलग्न भुल्लन केवट र होली केवटविरुद्धको मुद्दा फिर्ता लिदा खाँ स्वतः छुटे र पुनः हत्या, अपहरण र फिरौतीको शृंखलामा लागे।
- टेलिफोन र बिजुलीको तार चोरीको आरोपमा ७ जेठ ०६५ मा पक्राउ परेका थिए, इन्द्रपुर, बाँकेका मेराज अहमद साई। नेकपा एमालेको दबाबमा २० हजार धरौटीमा उनलाई छाडिएको थियो। पछि उनले हत्याहिंसाको शृंखला चलाए र बने भूमिगत समूहका नाइके, 'आर्दश'।
राजनीतिक दलहरूको संरक्षणमा उम्केका तीनै जना अभियुक्त अहिले कानुनी कठघरामा आएका छन्। भूमिगत जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका अध्यक्ष भगत सिंहलाई प्रहरीले १४ मंसिरमा पक्रियो। सिकन्दर खाँ १२ मंसिरमा पक्राउ परे। दुवैलाई भारतीय सुरक्षा निकायको समन्वयमा पक्राउ गरएिको प्रहरी बताउँछ। सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेर प्रहरीले उनीहरूलाई नेपाल ल्याएको हो। मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, "संविधानसभा निर्वाचनपछि प्रहरीले पहिलो उपहार दिएको छ, अब त्रासको स्थिति रहने छैन।"
सिंहको समूहले १३ फागुन ०६८ देखि विभिन्न चरणमा सरकारसँग वार्ता गर्दै आएको थियो। मनोज मण्डल संयोजक रहेको वार्ता टोलीमा बल्लु खाँ (सिकन्दर बागी), प्रह्लाद महरा (तुफान सिंह) र साजन मुकेरी सदस्य थिए। सरकारी सर्त अनुसार टोलीले तराईका १४ जिल्लाबाट आधुनिक पेस्तोल, कटुवा पेस्तोल, भरुवा बन्दुक, १२ बोर बन्दुक र विभिन्न प्रकृतिका बम प्रशासनलाई बुझाएको थियो। आफू र जेलमा रहेका आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता भए संविधानसभा निर्वाचनमा उम्मेदवार हुनेसम्मको इच्छा भगत सिंहको थियो। वार्ता टुंग्याएर निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै उक्त समूहले जिल्ला प्रशासनअगाडि धर्नासमेत दिएको थियो। निर्वाचनको मनोनयनअघि मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)सँग पार्टी एकताको सहमतिसमेत गरेका सिंह कानुनी अड्चनका कारण सीमावर्ती भारतीय बजार रुपैडियामा बस्दै आएका थिए। डीआईजी भण्डारी भन्छन्, "तर, गम्भीर प्रकृतिका फौजदारी मुद्दाका अभियुक्तलाई छाड्ने र माफी दिने गरी मुद्दा फिर्ता सम्भव थिएन। वार्ता भंग गरी पुनः हिंसामा फर्किने योजना बनाएकाले कानुनी प्रक्रियामा ल्याइएको हो।"
जेठ ०६४ यताका पाँच वर्ष बाँके र बर्दियामा हत्या, अपहरण र चन्दा आतंकका लामै शृंखला चलाएका थिए, सिंहले। पुनः हिंसामा फर्किने तयारी गरेको भन्ने प्रहरी दाबीको भने उनले खण्डन गरेका छन् र अझै पनि आफ्ना गतिविधिलाई राजनीतिक रंग दिन खोजेका छन्। प्रहरीकै पत्रकार सम्मेलनमा सिंहले भने, "हत्या-हिंसाबाट कसैको मुक्ति हुन्न भन्ने मैले बुझँे। विगतप्रति पश्चात्ताप छ, मलाई माफ दिनूस्। हामी वार्ता प्रक्रियामा छौँ। छिट्टै हाम्रा माग पूरा गर्न आग्रह गर्छु।"
भारतीय सहयोगी सलिम खाँसहित पक्राउ परेका सिकन्दर अली खाँ पछिल्लोपल्ट ठूलै आपराधिक घटनाको योजनामा रहेको प्रहरी दाबी छ। अत्याधुनिक जर्मन पेस्तोल, कटुवा पेस्तोल र गोलीहरूसहित पक्राउ परेका खाँले अधिकांश अपराध स्वीकारसिकेको बताउँछन्, भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी मधुसूदन पुडासैनी। भन्छन्, "जघन्य अपराध घटाउन नेपालगन्ज आउन लागेको सूचना पाएपछि विशेष टोली खटाइएको थियो।"
तराईमा हिंसात्मक समूह नजन्मिनुअघि खाँ सीमावर्ती गाउँमा 'खुन-डाँका'का रूपमा चिनिन्थे। मधेस मुक्तिको नारा लिएर जन्मेका कतिपय संगठनले खाँलाई प्रयोग गर्दै आएका थिए। पछिल्लोपल्ट उनी मुकेश चौधरी अध्यक्ष रहेको तराई जनतान्त्रिक पार्टी मधेसका 'सैन्य कमान्डर' थिए।
खाँ पक्राउ परेको यो पहिलोपटक भने होइन। ३ जेठ ०६५ मा पक्राउ परेका उनको मुद्दा तत्कालीन माओवादीको सरकारले 'आस्थाका बन्दी'सरह फिर्ता गरेको थियो। अघिल्लो संविधानसभा उम्मेदवार अधिकारीको हत्यामा संलग्नताको आरोपमा जेल परेका भुल्लन केवट र होली केवटविरुद्धको मुद्दा फिर्ता लिने क्रममा उनले पनि माफी पाएका थिए। मृत्यु हुनुअघि अधिकारीले केवटद्वय र सिकन्दर खाँले आफूलाई गोली हानेको बयान तत्कालीन प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई दिएका थिए। तर, उनीहरू हातहतियार तथा खरखजाना मुद्दामा ८० हजार जरविाना तिरेर रहिा भएका थिए।
१४ असोज ०६७ मा नेपालगन्जका दुई स्कुले विद्यार्थीको अपहरण गरी १० लाख फिरौती बुझिसकेपछि निर्मम हत्या गरेको अभियोगमा सर्वस्वसहित ७८ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन्, मेराज अहमद। २९ मंसिर ०६९ मा बाँके जिल्ला अदालतले हत्याका मुख्य अभियुक्त ठहर गर्दै मेराजलाई उक्त सजाय सुनाएको थियो। न्यायाधीश शेखरप्रसाद पौड्यालको इजालासले दुई बालकको अपहरण र हत्यामा संलग्न अन्य आठ अभियुक्तलाई १९ वर्ष कैद तोक्नुका साथै पीडित परविारलाई एक लाख क्षतिपूर्ति र १० लाख फिरौती भराउने फैसला गरेको थियो। रोचक त के भने उनी राष्ट्रिय अनुसन्धान विभागका जागिरेसमेत रहेको त्यतिबेला खुल्यो, जब उनी ०६७ मा पक्राउ परे।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन होस् वा भर्खरै सम्पन्न संविधानसभा निर्वाचन, प्रतिस्पर्धीलाई धम्क्याउन विपक्षीले हिंसात्मक समूहको सहारा लिने चलन नै बसेको थियो। भूमिगत हिंसात्मक समूहको कतिसम्म आतंक थियो भने फोनकै भरमा मागे अनुसार चन्दा दिन उद्योगी-व्यवसायी बाध्य थिए। नगरभित्र बसेरै ती समूहका लागि काम गर्नेहरू पनि अनुसन्धानका क्रममा तानिएका छन्। संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ का एमाले उम्मेदवार दिनेशचन्द्र यादवलाई एक प्रतिस्पर्धीले सशस्त्र समूह लगाएर हत्या योजना बनाएको समेत खुलेको अनुसन्धान टोलीका संयोजक डीएसपी प्रकाश मल्ल बताउँछन्। भन्छन्, "विभिन्न चर्चित र प्रतिष्ठित व्यक्तिका नामहरू आएका छन्। अनुसन्धानका क्रममा प्रमाण भेटिनासाथ पक्राउ गर्नेछौ ।

No comments:

Post a Comment